काठमाडौँ : गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका लामो समयपछि आजदेखि खुला गरिएको छ ।
सम्पदा बचाउ अभियानकर्मीको समूहले बिहीबार पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसाललाई भेटी प्रहरी वृत्त गौशालासँगैको सो ढोका खोल्न अनुरोध गरेको थियो । अभियानकर्मी प्रकाश रायमाझी नेतृत्वको समूहको अनुरोधपछि कोषले आजैदेखि प्रहरी वृत्ततर्फको बाहिरी ढोका खुला गरेको हो ।
करिब एक दशकदेखि यो ढोका बन्द गरिएको थियो । अभियानकर्मीले विश्व सम्पदा क्षेत्रमा आफूखुसी जथाभावी गर्न थालेपछि त्यसो नगर्न सुझाव दिएको रायमाझीले बताए । सदस्य सचिव भुसाललाई अनुरोध गरेको केही समयमै ढोका खुला भएको उनले सुनाए ।
रायमाझीले यसअघि पशुपतिनाथ मूल मन्दिरभित्रको फलामको रेलिङ हटाउन पनि भूमिका खेलेका थिए ।





