काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै युवराज सफलले प्रतिक्रिया जनाएका छन्।
विगतमा लामिछानेविरुद्ध नागरिकता लगायतका विषयमा मुद्दा दायर गरेर चर्चामा आएका सफलले रविका समर्थकहरूलाई धेरै खुसी नमनाउन चेतावनी दिएका हुन्। बिहीबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश राख्दै सफलले लामिछाने निर्दोष साबित भएर वा ‘क्लिन चिट’ पाएर निस्किन लागेको नभई ठूलो रकम धरौटी बुझाएर आउन लागेको जिकिर गरे।
‘रवि लामिछानेलाई अदालतले साधारण तारेखमा छोडेको वा क्लिन चिट दिएको होइन,’ सफलले भिडियोमा भनेका छन्, ‘तिमीहरू धेरै खुसी नहोऊ। मैले चाहेँ भने भोलि नै खोरमा हाल्दिन सक्छु, विचार गर भाइहरू।’ सफलले लामिछानेले सहकारीको रकम अपचलन गरेको स्वीकारोक्ति स्वरूप नै धरौटी रकम तोकिएको तर्क गरेका छन्।
उनले भने, ‘आफूले सहकारीमा ठगी गरेको पैसा तिर्न तयार रहेको र तिरेको पैसा तिरिसकेपछि मलाई बाहिर निस्किन दिनु भनेर अपिल गरेपछि अदालतले २ करोड ६८ लाख रुपैयाँ तिरेर बाहिर जा भनेको हो।’
उनले लामिछाने मुद्दा जितेर नभई धरौटीमा मात्र रिहा हुन लागेको भन्दै अनुसन्धान र मुद्दाको प्रक्रिया अझै बाँकी रहेको बताए। ‘प्रमाण नष्ट गर्ने सम्भावना नभएकाले अहिले थुनामा राख्न नपरेको मात्र हो,’ उनले भने, ‘उनीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा समेत सुनुवाइ हुनेछ।’
बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई धरौटीमा छोडन गर्न अदेश दिएको थियो।
https://www.facebook.com/reel/1050025477259432





