काठमाडौँ : सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को पहिलो चरणको बाँडफाँट सम्पन्न गरेको छ ।
शुक्रबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।
बैंकले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्काशन गरेको थियो । उक्त आईपीओ मंसिर २९ गतेदेखि पुस २ गतेसम्म खुला गरिएको थियो । निष्काशित शेयरको तुलनामा ६.४५ गुणा बढी आवेदन परेपछि बाँडफाँट गोलाप्रथामार्फत गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
निष्काशन अवधिमा कुल ६७ हजार ६५५ जनाले ११ लाख ११ हजार ५२० कित्ता शेयरका लागि आवेदन दिएका थिए । तीमध्ये प्रक्रिया पूरा गरेका ६७ हजार ६३७ आवेदनलाई स्वीकृत गरिएको छ भने बाँकी आवेदन रद्द भएका छन् । मागभन्दा धेरै आवेदन परेकाले योग्य आवेदकमध्ये गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको हो ।
बाँडफाँटका क्रममा १७ हजार २३८ जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेका ८ कित्ता शेयर सोही समूहका आवेदकमध्ये ८ जनालाई थप १–१ कित्ताका दरले वितरण गरिएको छ । यसअनुसार ती ८ जना आवेदकले कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् ।





