डीपीजी मेरो सट्टा जेल बस्न तयार हुनुहुन्थ्यो : रवि लामिछाने

२०८२ पुष ६, आईतवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा पार्टीको नेतृत्व सम्हालेका उपसभापति डोलप्रसाद (डीपी) अर्यालको खुलेर प्रशंसा गरेका छन्।

आइतबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकमा बोल्दै सभापति लामिछानेले अर्यालको नेतृत्व क्षमता र त्यागप्रति कृतज्ञता व्यक्त गरेका हुन्। हिरासतबाट रिहा भएपछि कार्यालय पुगेर बैठकको अध्यक्षता गरेका लामिछानेले आफ्नो अनुपस्थितिमा पार्टीलाई संगठित र अनुशासित रूपमा सञ्चालन गरेको भन्दै कार्यवाहक सभापति अर्याललाई धन्यवाद दिए।

बैठकका क्रममा सभापति लामिछाने निकै भावुक सुनिए। उनले हिरासत बसाइका क्रममा नख्खु कारागारमा भेट्न पुगेका डीपी अर्यालसँगको एक प्रसंग स्मरण गरे।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार भेटमा अर्यालले लामिछानेलाई भनेका थिए, ‘पार्टीको नेतृत्व कार्यवाहक दिएजस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? यदि मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु। देशलाई अहिले तपाईंको खाँचो छ, तपाईं बाहिर जानुस्, त्यस्तो गर्न पाए म तयार छु।’

सहकर्मीको यस्तो प्रस्ताव सुनेर आफू भावविह्वल भएको लामिछानेले बैठकमा सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार