नवलपरासी : ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घरघरमा बत्ती पुगेजस्तै किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताएका छन्।
पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनुपर्छ भने । विकासको नाममा जथाभावी लगानी गरिएको उल्लेख गर्दै उनले विकासलाई प्राथमिकताका आधारमा अगाडि नबढाई भ्यूटावरजस्ता क्षेत्रमा अर्बौं रुपैयाँको लगानीले देश समृद्ध बन्दैन भने ।
यसैबीच पश्चिम नवलपरासीको विभिन्न ठाउँमा निर्माणाधीन अधुरा आयोजनाको अवलोकन गर्दै मन्त्री घिसिङले समयमै काम सम्पन्न गर्न निर्देशनसमेत दिए। प्रतापपुर गाउँपालिका–७ गुठ्ठीसूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको अवलोकन गर्दै उहाँले टर्वाइनलगायत उपकरण छिट्टै मर्मत गराई विद्युत् उत्पादन बढाउन निर्देशन दिए ।
मन्त्री घिसिङले भने, “समृद्ध देश बनाउन र सुशासन कामय गर्न नेतृत्वको सही चयन गर्नुपर्छ ।” उज्यालो नेपाल पार्टीले एउटा क्षेत्र मात्र नभइ समग्र क्षेत्रलाई समेटेर नेपाललाई उज्यालो बनाउने मन्त्री घिसिङको भनाइ थियो ।








