काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच चुनाव केन्द्रित विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै उनले रास्वपाका सभापति लामिछानेसहित पदाधिकारीहरुसँग सकारात्मक वार्ता भएको बताए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले भने, “खास गरेर आजको वार्तामा चुनाव केन्द्रित कुराकानी भयो । चुनावलाई कसरी स्वतन्त्र निष्पक्ष र धाँदलीरहित ढङ्गबाट निर्धारित मितिमै गर्न सकिन्छ भन्ने कुराहरुमा विशेष छलफल भयो र त्यसमा हामीले सरकारको तर्फबाट गरिरहेको तयारी, निर्वाचन आयोगले गरिरहेको काम, सुरक्षा निकायको अवस्था यी सबैका विषयमा उनीहरुलाई जानकारी गरायौँ ।”
रास्वपाका सभापति लामिछानेलगायत पदाधिकारीले चुनाव आगामी फागुन २१ मै हुनुपर्ने, चुनाव निष्पक्ष स्वतन्त्र र धाँदलीरहित हुनुपर्ने तथा चुनावमा रास्वपाले भाग लिने बारेमा स्पष्ट रुपमा कुरा राखेको मन्त्री खरेलले बताए ।








