जुम्ला : कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ ।
पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले परम्परा बचाउनकै लागि भैली खेल्न सुरु गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी शेरबहादुर रावतले जानकारी दिए । पुस महिनाको प्रतिपदाका दिनदेखि खेलिने ठुली भैली जुम्लासहित कर्णालीका पाँचै जिल्लामा खेलिन्छ ।
पहिले मन मिल्ने बुढापाका, बालबालिका, युवायुवतीका समूह बनाएर चार पाँच दिन खेलिने सो भैलीको महत्त्व बिस्तारै घट्न थालेको तिला गाउँपालिका स्थानीयवासी हरिचन्द्र बुढाको भनाइ छ । कर्णालीको मौलिक पर्वलाई थप संरक्षण गर्न गाउँका बुढापाखा मिलेर अहिले ठुली भैली खेल्न थालेका छन् । भैलीमा सबै साथीसङ्गी मिली नयाँ पहिरनमा सजिएर आफन्तजनका घरघरमा गएर भैलो खेल्ने चलन रहेको तिला–१ का स्थानीयवासी कर्ण रावतले बताए ।
१२३ औँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि सुरु भएको हिउँदे याममा खेलिने ठुली भैली खेल्ने चलन हराउँदै जान थालेकामा बुढापाका चिन्तित छन् । दशक अघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानीयस्तरको महत्वपूर्ण पर्वका रूपमा मानिन्थ्यो ।
खास गरी कर्णालीमा पुस महिनामा फुर्सद हुने, सबैले सबै काम सकाएर बसिरहेको बेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठुली भैलो खेल्ने चलन रही आएको छ । औँसीदेखि पञ्चमीसम्म ५ दिन खेलिने भएकाले यसलाई ठुली भैलो भनिन्छ ।








