काठमाडौँ : नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानाप्रति लक्षित गर्दै कडा चेतावनी दिएकी छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बमले पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ चेतावनी दिएकी हुन् ।
‘…चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्। भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईँले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।’, उनले लेखेकी छिन् ।
बमले संसद् पुनः स्थापनाको बहसलाई पश्चगामी बाटोको संज्ञा दिँदै मुलुकको राजनीतिक कोर्स त्यस चरणभन्दा धेरै अघि बढिसकेको बताएकी छन् । उनका अनुसार अब निकासका लागि नयाँ जनादेश सहित नयाँ संसदमार्फत देशलाई अघि बढाउनुपर्ने आवश्यकता छ । ‘यतिखेर सबैभन्दा प्रमुख कुरा राजनीतिक प्रक्रिया हो,’ उनले लेखेकी छन्, ‘हामी कसैको पनि स्वार्थपूर्तिका खातिर राजनीतिक वा रणनीतिक गोटी बन्नु हुँदैन।’









