काठमाडौं : नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएको बहस र प्रतिक्रियाप्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत सबैलाई संयमित हुन आग्रह गरेका छन्।
उनले हालै सम्पन्न महाधिवेशनमा उठेका विषय, नेतृत्व चयनका क्रममा भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहबीच भएका सामान्य छलफललाई लिएर केही नेता-कार्यकर्ता अनावश्यक रूपमा तरंगित भएको प्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। विगतमा पार्टीभित्रका बहस–विवादले नकारात्मक र नोक्सानदायी परिणाम दिएको अनुभव स्मरण गराउँदै पोखरेलले अहिले पनि त्यही ‘त्रास’बाट प्रभावित भएर प्रतिक्रिया दिनु उपयुक्त नहुने बताए।
पोखरेलले विगतका दुर्भाग्यपूर्ण अध्याय दोहोरिन नदिइने स्पष्ट गर्दै महाधिवेशनबाट निर्वाचित नेतृत्व र संस्थागत निर्णयको विरोधमा कसैबाट पनि गतिविधि नहुने दाबी गरेका छन्। तर, नेता तथा कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्ने उल्लेख गर्दै समान र सम्मानजनक व्यवहारको अपेक्षा स्वाभाविक भएको उनको भनाइ छ। त्यस्तो व्यवहार नहुँदा असहमति वा आलोचना हुनु अस्वाभाविक नहुने उनले बताएका छन्।
उनले यसपटक नेतृत्व चयनमा सर्वसम्मति हुन नसकेको स्वीकार गर्दै त्यसका कारणबारे महाधिवेशनका सहभागीहरूले आफैँ मूल्यांकन गरेको उल्लेख गरे। समूहगत प्रतिस्पर्धाका क्रममा पार्टी जीवनको लोकतान्त्रीकरणजस्ता नीतिगत विषय उठाइएको र ती विषय अवधारणा पत्रका रूपमा सार्वजनिक भई बन्द सत्रमा समेत प्रस्तुत गरिएको भन्दै लुकाउनुपर्ने केही नभएको स्पष्ट पारेका छन्।








