साउथ इन्डियन फिल्मको हिरोजस्तो अवतारले देश बन्दैन : प्रदीप ज्ञवाली

२०८२ पुष १२, शनिबार

काठमाडौं : पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको सम्भावित सहकार्य र एकताको चर्चा चलिरहँदा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसलाई ‘भावुकताको लहर’ को संज्ञा दिएका छन् ।

राजनीतिक वृत्तमा नयाँ शक्तिको उदय र पुराना दलप्रतिको वितृष्णाबारे बहस भइरहँदा नेता ज्ञवालीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै देश निर्माण कुनै ‘चमत्कारी’ (तिलस्मी) पात्रबाट सम्भव नहुने जिकिर गरेका छन् । ज्ञवालीले अहिलेको चर्चालाई दक्षिण भारतीय (साउथ इन्डियन) चलचित्रको पटकथासँग तुलना गरेका छन् ।

उनले लेखेका छन्, ‘अहिले मानौं आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरू नमिलेर हो भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ । यो दक्षिण भारतीय चलचित्रमा कुनै नायक रङ्गमञ्चमा उत्रिएर ड्याक्क खुट्टा बजार्दा तुफान आएजस्तो र सबै खलनायक सोत्तर भएजस्तो भ्रम हो ।’

उनले यस्तो मिलनले देशलाई मुक्ति दिने ‘तारणहार’ जन्माउँछ भन्ने भ्रम नपाल्न सुझाव दिँदै देश निर्माणका लागि व्यक्ति नभई विचार, संस्था, प्रणाली र सामूहिकता आवश्यक पर्नेमा जोड दिएका छन् ।

ज्ञवालीले घुमाउरो शैलीमा नयाँ र वैकल्पिक भनिएका शक्तिहरूको विगत र वर्तमान शैलीमाथि पनि टिप्पणी गरेका छन् । उनले ‘सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने’ प्रवृत्ति लोकतान्त्रिक प्रतिस्पर्धामार्फत सिंहदरबारमै पुग्न खोज्नुलाई भने सकारात्मक र स्वाभाविक मानेका छन् । यद्यपि, विचार मिल्नु र स्वार्थ मिल्नुमा फरक रहेको भन्दै उनले यसको परीक्षण समयले गर्ने बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार