आगामी निर्वाचनमा सहभागी हुन्छौँ : अध्यक्ष यादव

२०८२ पुष १३, आईतवार

मोरङ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन् ।

पार्टीको १ नं प्रदेश समितिद्वारा शनिबार विराटनगरमा आयोजित जनसभामा उनले निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले जसपा सक्रिय रूपमा सहभागी हुने धारणा राखे । अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार अन्त्यसहित सुशासन कायम हुनुपर्ने, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्नेलगायत माग राखी गत भदौ २३ र २४ गते प्रदर्शन भएकाले यो आमयुवाको माग रहेको उल्लेख गरे ।

उनले सबै राजनीतिक दल सुशासन कायम गर्ने/गराउने मार्गमा जनअपेक्षा अनुसार चल्नुपर्नेमा जोड दिए । पार्टीका सहअध्यक्ष रकम चेम्जोङले गत भदौ २३ गतेको भएको जेनजी प्रदर्शन युवाको आवाज भएकाले मुुलुकमा राजनीतिक स्थिरताका लागि सोहीअनुसार संविधान संशोधन गर्नुपर्ने सुझाव दिए । युवाको माग सम्बोधन गर्न सबै राजनीतिक दल सकारात्मक हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भएमा मुलुकमा स्थिरता आउने दाबी गरे ।

पार्टीका प्रदेश अध्यक्ष दीपक याक्ख्या, केन्द्रीय सचिव रामकुमार राई, केन्द्रीय सदस्य सञ्जय सिंह, पन्नालाल मण्डल, कुन्ता राई र जिल्ला अध्यक्ष राजकुमार यादवले आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार