काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतले नगरपालिका नै राम्रोसँग चलाउन नसक्ने व्यक्तिले देश चलाउन सक्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिचको गठबन्धनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले उक्त गठबन्धनले बालेनको स्वतन्त्र छविमा नकारात्मक असर पर्ने बताएका हुन् । उनका अनुसार काण्डै-काण्डमा मुछिएका रवि लामिछानेसँगको सहकार्यले बालेनको लोकप्रियता तीव्र गतिमा घट्न सक्छ ।
बस्नेतले बालेनको लोकप्रियता उनको स्वतन्त्र पहिचानसँग जोडिएको उल्लेख गर्दै विवादित नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण कमजोर हुने दाबी गरेका छन् । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा स्पष्ट दिशा र दीर्घकालीन भिजन नदेखिएको टिप्पणी पनि गरेका छन् ।






