ललितपुर : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले सबै भुक्तानी विद्युतीय प्रणालीबाट हुने व्यवस्थालाई अनिवार्य गरेको बताएका छन्।
पूर्वयोजनाकार मञ्च नेपालले आज ललितपुरमा आयोजना गरेको ‘पुनःनिर्माण र आर्थिक पुनरुत्थानको लागि वित्तीय सुधार र बजेट प्राथमिकता’ सम्बन्धी उच्चस्तरीय नीति संवादमा उनले विद्युतीय भुक्तानीले बिल बोकेर धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गरे।
‘आन्तरिक राजस्व कार्यालयमा अनलाइन प्रणाली सहज बनाएका छौँ, कर प्रणालीलाई स्थानीय तहसँग जोड्न लागिपरेका छौँ, पुनरुत्थानका लागि सहजीकरण गर्न राष्ट्र बैकसँग निरन्तर समन्वय र सहकार्यमा छौँ,‘ मन्त्री खनालले भने। आर्थिक सुधारका पक्षमा मात्रै सोचेर काम गर्दा निर्वाचनमा समस्या आउँछ कि भन्ने विषयमा सरकार सचेत रहेको उनको भनाइ छ।
अर्थमन्त्री खनालले पुनःनिर्माणका सन्दर्भमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको लागि रु ३० अर्बभन्दा बढी दिन पुग्नेगरी जगेडामा राखेको जानकारी दिए।





