काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोग, कास्कीका अध्यक्ष गंगाप्रसाद पोख्रेलसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले एक करोड ४० लाख २५ हजार रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा राष्ट्रिय भूमि आयोग, तत्कालीन सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपाली, मालपोत कार्यालय पोखराका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी र प्रतिवादी भीमबहादुर विक छन् ।
हाल पोखरा महानगरपालिका–२६ स्थित सामुदायिक अमर ज्योति आधारभूत विद्यालय परिसरको कित्ता नं.७२५ को क्षेत्रफल ३–३–०–० रोपनीसमेतको जग्गा तत्कालीन भूमि आयोगका अध्यक्ष/सदस्य मिली व्यक्तिको नाममा दर्ता गराई अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा उनीहरूले एक करोड ४० लाख २५ हजार रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग जनही एक करोड ४० लाख २५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।








