कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आसन्न फागुन २१ को चुनाव नहुने अन्योल हटेको बताएका छन् । अब निष्पक्ष र भयमुक्त रूपले निर्वाचन सम्पन्न गराउन सङ्घीय सरकार थप गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं २ को आज सुर्खेतमा बसेको तेस्रो पूर्ण बैठकमा पार्टीका केन्द्रीय सचिवसमेत रहेका कँडेलले निर्धारित समयमै चुनाव सम्पन्न गराउने विषयमा विगतमा जस्तो अन्यौल नरहेको बताए । उनले भने, “सुरुमा राजनीतिक दलहरूको नाम देखाएर चुनावमा केही अन्यौलका कुरा भइरहेका थिए ।
अब सबै दल चुनावमा जान तयार भइसकेकाले चुनाव सार्ने सम्भावना हटिसकेको छ । अब सरकार र कोही पनि अन्यौलमा रहनुहुँदैन ।” सचिव कँडेलले आफ्नो पाटीका अध्यक्षलाई स्थान हद लगाएका कारण अहिले सङ्घीय सरकारमाथि नै चुनाव नगर्ने हो कि भन्न शंका उत्पन्न भइरहेको भन्दै सो समस्या समाधानका लागि आग्रह गरे ।
उनले भने, “सरकार चुनाव हुन्छ भन्छ, तर हाम्रो पार्टीका अध्यक्षलाई स्थान हद तोकेर प्रचारप्रसारको वातावरण नै बनाइँदैन भने समस्या हुन्छ । यस विषयमा अब धेरै दिन अन्यौल रहनुहुँदैन ।”





