ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा क्षेत्रमा शनिबार साँझदेखि हिमपात भएको छ ।
हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ । “पाथीभरा क्षेत्रमा बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो बढेको छ”, पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले भने । यसअघि पाथीभरा क्षेत्रमा गत मङ्सिर ६ गते सामान्य हिमपात भएको थियो ।
केही दिनअघिसम्म मौसम खुले पनि पछिल्ला दिनमा मौसम धुम्मिएकाले जिल्लाभर चिसो बढेको छ । शनिबार दिउँसो सदरमुकाम फुङ्लिङ सहितका ठाउँमा छिटफुट वर्षासमेत भएको थियो ।





