काठमाडौं : डा. कमल (निकोलस) भुसालले सरकारसँग भएको ६ बुँदे सहमति माघ १५ गतेभित्र कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भुसालले सरकारलाई दिएको समयसीमाभित्र माग सम्बोधन नभए शहिद दिवस देखि फेरि सडकमा आउने बताएका हुन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै भुसालले आन्दोलनका क्रममा गोली चलाउनेमाथि १५ दिनभित्र बयान लिएर कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको बताए।
उनले भने, ‘आन्दोलनमा हाम्रा भाइबहिनीमाथि गोली प्रहार गर्नेहरूको बयान लिई कारबाही गर्ने सहमति भएको छ। केपी ओली लगायत सबैसँग बयान लिइनेछ भन्ने आशा छ।’ कर्मचारीका नाममा खुलेका प्रतिष्ठान र २०४६ सालयताको अकुत सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने विषयमा पनि सहमति जुटेको उनले जानकारी दिए।
भुसालका अनुसार संविधान संशोधन सुझाव समिति गठन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश संरचना खारेजीको विषयमा पनि सहमति भएको छ। उनले विदेशमा रहेका र जिल्ला बाहिर रहेका नेपालीलाई आगामी चुनावमा मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि सहमतिमा समेटिएको दाबी गरे।





