काठमाडौँ : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।
मकवानपुर जिल्ला प्रहरीका अनुसार आइतबार साँझ करिब ५:२० बजे काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा सुमोमा सवार ९ जनाको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर र २ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेमध्ये सुमो चालक गणेश थापा र १२ वर्षीय अभ्यास लम्साललाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ।
हेटौंडा अस्पतालमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मृत्यु हुनेमा भारत बिहार राज्य पटना बस्ने ४२ वर्षीय रजनिस कुमार, हेटौंडा–४ कमलडाँडा बस्ने ४० वर्षीया सबिता लम्साल, हेटौंडा–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार बेगुसराई बस्ने करिब ४९/५० वर्षीय अरबिन्द कुमार तथा पहिचान नखुलेका करिब ३५/३६ र ४० वर्ष उमेरका दुई पुरुष रहेका छन्।





