काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा गरेका छन् ।
सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले पार्टीको विशेष महाधिवेशन हुनै नदिने बताएका हुन् । ‘विशेष महाधिवेशन हुँदैन । हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,’ उनले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।’
दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको भन्दै नेता सिटौलाले विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन पनि आग्रह गरे । ‘हस्ताक्षर गर्नेलाई काठमाडौ नआउन आग्रह गर्दछु । चुनावको तयारीमा लाग्न आग्रह गर्दछु’ उनले भने ।





