
हाटबजारको ५०औँ हप्ता प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले साना तथा मझौला उद्यमहरूले भोग्ने गरेको बजारीकरणको समस्याबाट राहत दिने प्रयास स्वरूप बैंकले सञ्चालन गरेको यस हाट बजारमा खाद्य उत्पादनकर्ता, किसान, हस्तकला उत्पादक, दिगो साना र मझौला उद्यमहरूले आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री गर्न सहज भइरहेको बताए ।

उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको बताए ।
साथै, उनले हाटबजारले अर्ग्यानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गरेको बताए ।

‘हामीले सिम्बोलिक अभियानको रूपमा सञ्चालन गरेको हाटबजार उद्यमी तथा खरिदकर्ताहरूको समर्थन र विश्वासको कारण ५०औँ हप्तासम्म सञ्चालन भएको छ र निरन्तर सञ्चालन भइरहने छ ।’ साथै, यस हाटबजारलाई भविष्यमा अझ विस्तारित र व्यापक बनाई हजारौँ हाटबजारको उत्सव मनाउन पाउने विश्वास उनले व्यक्त गरे ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत बुझेर केबल कर्जा प्रवाहमा मात्र केन्द्रित नभई, उद्यमीहरूको चौतर्फी विकास र व्यावसायिक सीप विकासमा पनि विभिन्न कार्यहरू गर्दै आएको जानकारी दिए ।






