काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र कसैप्रति पनि काखापाखा नहुने स्पष्ट पारेका छन्।
निर्वाचन आयोगबाट आफू नेतृत्वको समूहले आधिकारिकता पाएपछि प्रतिक्रिया दिँदै सभापति थापाले भने, ‘कांग्रेस कुनै एक समूहको मात्र पार्टी होइन। भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको पनि यो पार्टी हो।’
उनका अनुसार आगामी निर्वाचनमा टिकट बाँडफाँट गर्दा कसैले आफू पराजित भएको अनुभूति गर्नुपर्ने अवस्था आउँदैन। ‘जित–हारको मानसिकताबाट माथि उठेर समावेशी ढंगले निर्णय गरिन्छ,’ उनले भने, ‘कुनै प्रकारको प्रतिशोध वा विभेद हुँदैन।’
सभापति थापाले पार्टीको नियमित महाधिवेशन तोकिएकै समयअनुसार वैशाखमै सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याए।





