झापा : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग भोट माग्न आफूहरूले झुटको साहारा लिनु नपर्ने बताएका छन् ।
उनले नीति, कार्यक्रम र विचारले स्पष्ट भएर जनताको घरदैलोमा गएर जनताहरूको भावाना सुन्न आवश्यक रहेको भन्दै यस्तो बताएका हुन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका अध्यक्ष ओलीले आफूहरूले गरेका विकासका काम, सुरु भएर अधुरो रहेका निर्माणको काम, विभिन्न पूर्वाधारको विषयमा जनतालाई बुझाउन आग्रह गरे ।
“मलाई लाग्छ यहाँका जनताले आफ्नो अभिमत विकास र निर्माणको पक्षमा जाहेर गर्नुहुने छ” उनले भने । विकासका कुरा, निर्माणका कुरा र विचारका कुरा गर्दा अहिले सामाजिक र भौतिक रूपमा नै आक्रमण हुने त्रासका कारण बोल्न डराउनु पर्ने अवस्था आएको भन्दै उनले थपे, “विचारविहीनहरूले विचार भएकाहरूमाथि आक्रमण गर्ने क्रम देखिएको छ, यसलाई निस्तेज पार्नुपर्छ ।”





