काठमाडौँ : पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ । यसमध्ये ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता शेयर पश्चिम नवलपरासी र पाल्पा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
यस्तै, कुल जारी शेयरको १५ प्रतिशतको १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिएको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणअन्तर्गत स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ ।





