ओखलढुंगा : ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित भदौरेमा एक वृद्ध दम्पतीको निर्मम हत्या भएको छ।
बोहोरे गाउँमा सानो पसल सञ्चालन गर्दै आएका करिब ८० वर्षका चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईलाई सोमबार राति अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरीले जनाएको छ। घरमा दुवै जना मात्रै बस्दै आएका राई दम्पतीको हत्या भएपछि घरभित्र लुटपाटसमेत गरिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।
हाल घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त खोजी कुकुरसमेत मगाइएको छ।





