काठमाडौँ : नेकपा एमालेका नेता जीतेन्द्रनारायण देवले पार्टी परित्याग गरेका छन् । पार्टीलाई स्वेच्छाचारी ढंगले सञ्चालन गरेको आरोप लगाउँदै देवले पार्टी परित्याग गरेका हुन् ।
‘विगत लामो समयदेखि देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरूको आम विदेश पलायनको विरुद्धमा आक्रोश विस्फोट थियो– भदौ २३ गतेको जेनजी विद्रोह । यसलाई यसै रूपमा नबुझी वा बुझ्न नचाही आफू सच्चिन र पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई ‘विदेशी षड्यन्त्र’ देख्ने, पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन गर्ने विचार नीति तथा व्यवहारसँग असहमत भई आजैका मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्दै सबै सम्बद्ध पक्षलाई यस विषयको सार्वजनिक जानकारी गराउँदछु,’ देवले फेसबूकमा लेखेका छन् ।
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट विजय गच्छदारसँगै कांग्रेसमा समाहित भएका देव २०८१ असार १७ गते एमाले प्रवेश गरेका थिए । त्यसको डेढ वर्षपछि उनले पार्टी परित्याग गरेका हुन् ।






