काठमाडौँ : रास्वपाका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह आफ्नो निर्वाचन क्षेत्र झापा–५ का स्थानीयवासीसँग भेटघाट गर्न थालेका छन् ।
झापा–५ बाट उम्मेदवारी दर्तालगत्तै देशको विभिन्न स्थानमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका बालेन मंगलबार बिहानैदेखि झापा–५ का स्थानीयलाई भेटेर गुनासो सुनिरहेका छन् ।
झापा कमलगाउँपालिकाका सुकुम्वासीको समेत उनले गुनासो सुन्दै आफूविरुद्ध फैलाइएको गलत अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन् । काठमाडौं नदी किनारमा रहेका सुकुम्वासीको रक्षाका लागि आफूले काम गर्दा विरोधीको रुपमा चित्रण गरिएको भन्दै बालेनले झापा–५ का सुकुम्वासीको सन्दर्भ फरक रहेको बताए ।
झापा–५ का सुकुम्वासी बस्तीमा डोजर नचल्ने भन्दै उनले सुकुम्वासीले लालपुर्जा पाउनुपर्ने बताए । लालपुर्जा नभएकाले पाउने गरी सिस्टम सुधार्नुपर्ने उनको भनाइ छ ।





