राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट

२०८२ माघ २०, मंगलवार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउँदै यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।

जापानका प्रधानमन्त्री तकाइची सनायले मंगलबार टोकियोमा गरेको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

‘हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौँ, दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौँ’, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव हामीबीच स्थापीत द्विपक्षीय सम्बन्धको एक कोसेढुङ्गा हो भन्दै उनले यसप्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताए । नेपालको सामाजिक र आर्थिक विकासमा जापान महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा अहिले जापानी लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको बताए ।

सो अवसरमा जापानका प्रधानमन्त्री सनायले नेपालको स्थायित्व जापानको लागि र यस क्षेत्रकै लागि महत्त्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य  निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

जापानका प्रधानमन्त्री तकाइची सनायले निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने पनि बताइन् । उनले नेपाल र जापान विगत लामो समयदेखिका घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थीको सम्पर्क र  जापानी नागरिकले नेपालको हिमालहरू चढ्ने गरेकोजस्ता कारणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै गएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार