काठमाडौं : उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं मुलुकको कार्यकारी नेतृत्व गर्न चुनावी मैदानमा होमिएको बताएका छन्।
बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै घिसिङले देशको नेतृत्व र आमूल परिवर्तनका लागि आफ्नो पार्टीको विकल्प नभएको उनले जिकिर गरे। ‘प्रधानमन्त्री हामी हुन्छौं, हामी यो देशको नेतृत्व गर्छौं,’ घिसिङले भने, ‘यो देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन आएका होइनौं। हामी आफैँ प्रधानमन्त्री भएर यो देशको नेतृत्व र परिवर्तन गर्न आएका हौं।’
घिसिङले अबको चुनावमा भाषण गर्नेलाई नभई काम गरेर नतिजा दिनेलाई जनताले रोज्नुपर्ने बताए। उनले अन्य दलहरूप्रति लक्षित गर्दै सामाजिक सञ्जाल र भाषणको भरमा नभई आफूहरू काम गरेर ‘अर्गानिक’ रूपमा स्थापित भएको दाबी गरे।









