पशुपतिनाथ मन्दिर परिसरमा रङरोगन, सरसफाइ सुरु

२०८२ माघ २६, सोमबार

काठमाडौँ : यस वर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज र सुरक्षित दर्शन गराउन विशेष तयारी भइरहेकामा पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिँदै भने, ‘साधु–सन्त, भक्तजन र दर्शनार्थीको सुविधा सुनिश्चित गर्ने लक्ष्यका साथ व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात र प्रचार–प्रसारका काम तीव्र रूपमा भइरहेका छन् ।’

महाशिवरात्रि पर्वमा ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले भीड व्यवस्थापन, सुरक्षा र आपत्कालीन सेवामा विशेष ध्यान दिइएको छ । तयारीमा सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँग समन्वय गर्दै काम अघि बढाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको नेतृत्वमा १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिको उद्देश्य महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्नु हो ।

महाशिवरात्रि नजिकिँदै जाँदा पशुपतिनाथमा साधु–सन्तहरूको आगमन तीव्र भइरहेको छ । नेपालका विभिन्न भू-भाग र छिमेकी भारतबाट पनि साधु-सन्तहरू यहाँ आइरहेका छन् । उनीहरूले आ–आफ्ना धुनी स्थापना गर्दै ध्यान, तपस्या र साधनाका लागि तयारी थालेका छन् ।

यस वर्ष महाशिवरात्रि फागुन ३ गते पर्नेछ । हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व भएकाले स्वदेशी तथा विदेशी श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार र सम्बन्धित निकायहरू पर्वलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गराउन सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार