काठमाडौँ : अअर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहसँग आर्थिक मुद्दाहरूमा अत्यन्तै नजिक, प्रत्यक्ष र निरन्तर समन्वय भइरहेको स्पष्ट पारेका छन्।
मंगलबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उनले बजारमा अर्थमन्त्री कता हराए, देखिएनन् भन्ने खालका चर्चा र भ्रम रहेको बताएका हुन्।
अर्थमन्त्री वाग्लेले मन्त्रीले प्रधानमन्त्री र अर्थमन्त्रीबिच कुनै पनि फिल्टर वा बिचौलिया बिना सिधा संवाद हुने गरेको बताए । उनले भने,’प्रधानमन्त्रीज्यू र मबिच कुनै मध्यस्थता बिना सिधै र तत्काल संवाद हुन्छ । उहाँले मुख्य विषयहरूमा मसँग सोझै फलोअप गर्नुहुन्छ ।’
प्रधानमन्त्रीले निजी क्षेत्रका गुनासोहरू, करका दरहरू र बजारको अवस्थाबारे अत्यन्तै सूक्ष्म र गहिरो चासो राख्ने गरेको मन्त्रीले जानकारी दिए। उनका अनुसार हरेक मन्त्रिपरिषद्को बैठक सकिएपछि प्रधानमन्त्री र अर्थमन्त्रीबिच ३० देखि ५० मिनेटसम्म अर्थतन्त्रका विषयमा मात्रै छुट्टै र विशेष छलफल हुने गरेको छ।





