काठमाडौं : वेस्ट इन्डिजले आईसीसी टी-२० विश्वकपको समूह ‘सी’ अन्तर्गतको रोमाञ्चक भिडन्तमा साविक विजेता इंग्ल्यान्डलाई ३० रनले स्तब्ध पारेको छ ।
शेरफाने रदरफर्डको सानदार अर्धशतक र गुदाकेश मोतीको कसिलो बलिङको मद्दतले वेस्ट इन्डिजले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर एटको सम्भावनालाई थप बलियो बनाएको हो । नेपाल समेत रहेको समूह ‘सी’ मा वेस्ट इन्डिजले २ खेलबाट ४ अंक जोड्दै आफूलाई बलियो स्थानमा उभ्याएको छ । समान खेल खेलेका इंग्ल्यान्ड र स्कटल्यान्डको २-२ अंक छ भने नेपाल र इटाली अहिलेसम्म अंकविहीन छन् ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आक्रामक ब्याटिङ गर्दै १९६ रनको विशाल योगफल तयार पारेको थियो । सुरुवाती दोस्रो ओभरमै २ विकेट गुमाएर संकटमा परेको वेस्ट इन्डिजलाई शेरफाने रदरफर्डले उद्धार गरे । उनले मात्र ४१ बलमा २ चौका र ६ छक्काको मद्दतले ७६ रनको विष्फोटक र अविजित इनिङ्स खेले ।
यस्तै, रोस्टन चेसले ३४ रन र जेसन होल्डरले १७ बलमा ३३ रनको योगदान दिए । सिमरन हेटमायरले २३ र कप्तान रोभमान पावेलले १४ रन जोडे । इंग्ल्यान्डका लागि जामी ओभरटन र आदिल रसिदले २–२ विकेट लिए भने जोफ्रा आर्चर र साम करनले १–१ विकेट हात पारे ।
१ सय ९७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभरमा १ सय ६६ रन बनाउँदै अलआउट भयो । इंग्ल्यान्डका लागि साम करनले सर्वाधिक ४३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ज्याकोब बेथेलले ३३, फिल साल्टले ३० र कप्तान जस बटलरले २१ रनको योगदान दिए । अन्य ब्याटरहरू सस्तोमै समेटिएपछि इंग्ल्यान्ड लक्ष्यभन्दा ३१ रन पछाडि रहन पुग्यो ।
वेस्ट इन्डिजका स्पिनर गुदाकेश मोतीले सानदार बलिङ गर्दै ३ विकेट लिए । रोस्टन चेसले २ तथा रोमारियो सेफर्ड र अकिल होसेनले १–१ विकेट झार्दै इंग्ल्यान्डको ब्याटिङ लाइनअप ध्वस्त पारे । यस समूहमा आज नेपाल र इटालीबीच प्रतिस्पर्धा हुँदैछ ।










