काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदाताको निकै माया र विश्वास पाएको बताएका छन् ।
झापा भ्रमण पूरा गरी काठमाडौँ फर्किने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताएका हुन्।
झापा क्षेत्र नं ५ का मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो भन्ने जिज्ञासामा अध्यक्ष ओलीले आफ्ना निर्वाचन क्षेत्रका जनताबाट अगाध स्नेह र भरोसा प्राप्त भएको उल्लेख गरे । एक सातासम्म आफ्नै निर्वाचन क्षेत्रमा मतदातासँग समय बिताएका ओलीलाई स्थानीयले विकासका योजना, अपुरा आयोजना र स्थानीय समस्याका बारेमा जानकारी गराएका थिए ।
भेटघाटका क्रममा मतदाताले अध्यक्ष ओलीलाई समय–समयमा आफ्नो क्षेत्रमा आएर भेटघाट गर्ने कार्यक्रम राखिदिन सुझाव दिएका थिए । उनले क्षेत्रमा रहँदा मतदातालाई पर्याप्त समय दिई विभिन्न विषयमा छलफल गरेका थिए ।










