काभ्रेपलाञ्चोक : तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रमाएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ ।
यसबाट उनले वार्षिक ३० लाखको आम्दानी पनि गरिरहेका छन् । कोरोना महामारीका बेला खेती थालेका उनी भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी भएका छन् ।
‘बजारीकरणको समस्या छैन, बर्सेनि बजार बढ्दैछ’ व्यवसायी विष्टले भने, ‘स्थानीय बजारमा प्रतिकिलो रु चार सयदेखि आठ सयसम्ममा भुइँऐसेलु बिक्री भइरहेको छ ।’ जनागालस्थित आफ्नै दश रोपनी जग्गामा भुइँऐसेलु रोपेर जिल्लामा मात्र नभएर देशको नमूना किसानको पहिचान बताएका ४६ वर्षीय विष्टले भुइँऐसेलु रोप्ने सीप सिकेर व्यवसाय थालेका होइनन् भने होइन, अरुले रोपेको देखेर र भनेका आधारमा खेती थालेको सुनाए।
गत वर्ष सबै खर्च कटाएर रु ३० लाख बचत गरेका उनी यसवर्ष केही बढी आम्दानी हुनेमा आश्वस्त छन् । उनले भुइँऐसेलु मात्र होइन मौसमी सागसब्जीसँगै कुखुरापालन पनि गरिरहेका छन् । भुइँऐसेलुका बिरुवा पनि उहाँले बेच्दै आएका छन् । उनले भुइँऐसेलुखेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोपेका छन् ।
हाल उनको फार्ममा पाँच जनाले रोजगारी पाएका छन् । व्यवसाय विस्तारको सोचमा रहेका उनले भुइँऐसेलुबाट ‘वाइन’ र ‘जुस’ उत्पादन उद्योग स्थापना गर्न विज्ञहरूसँग परामर्श गरिरहेका छन् ।










