बागलुङ : बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा मृत्यु भएको छ ।
छन्त्यालसँगै बिहीबार भएको दुर्घटनामा मृत्यु हुने विद्यार्थीको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका १३ वर्षीय सुजललाई धौलागिरि अस्पताल बागलुङमा उपचारपछि थप उपचारका लागि पोखरा लगिएकामा आज गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । दुर्घटनाका घाइते अमन बोहोराको बिहीबार नै धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीले जानकारी दिए ।
दुर्घटनामा २६ जना घाइते भएका थिए । धौलागिरि प्रादेशिक अस्पतालमा उपचाररत १४ जनामध्ये १२ जना उपचारपछि घर फर्किएको र दुई जनाको उपचार भइरहेको तिवारीले बताए । अन्य आठ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।










