काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना जिरोनासँग पराजित भएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा जिरोनाले बार्सिलोनालाई २-१ गोलअन्तरले हराएको हो । जिरोनाको जितमा थोमस लेमार र फ्रान बेल्ट्रानले एक-एक गोल गरे । बार्सिलोनाका पाउ कुबार्सीले गोल गरे । खेलको ५९औं मिनेटमा कुबार्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६२औं मिनेटमा लेमारले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
८६औं मिनेटमा बेल्ट्रानले गोल गरेपछि जिरोनाको जित पक्का भयो । खेल सकिनै लाग्दा इन्जुरी समयको नवौं मिनेटमा जोल रोकाले रातो कार्ड पाएका थिए ।










