काठमाडौँ : प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ ।
निर्माण पक्षले सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । शिक्षक पेसाको गरिमा, त्याग र समाज निर्माणमा उनीहरूको भूमिकालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्र ०८३ वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो ।
नयाँ वर्ष ०८३ को अवसर पारेर चलचित्रको प्रदर्शन मिति तोकिएको निर्माता तथा निर्देशक सुनारले जानकारी दिए । सोनी फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा कथा तथा निर्देशन प्रेम सोनी सुनारले नै सम्हालेका छन् । उनले नेपाली समाजमा शिक्षकले खेलेको अदृश्य तर अत्यन्त महत्त्वपूर्ण भूमिकालाई कलात्मक ढंगले पर्दामा उतार्ने प्रयास गरेको बताएका छन् ।
निर्माता सुनारले भने, ‘यो चलचित्र केवल मनोरञ्जनका लागि निर्माण गरिएको होइन, विद्यार्थी, शिक्षक, अभिभावक र सामाजिक जीवनको महत्त्वपूर्ण पाठ हो ।’ चलचित्रमा मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल, ध्रुव कोइराला र टीका सानुको मुख्य भूमिका छ ।










