काठमाडाैँ : अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने शङ्का हटेको बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले शुरुवाती दिनहरूमा अनेकौँ चुनौतीहरू आइपरे पनि निरन्तरको संवाद र दलहरूसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताएका हुन्।
उनका अनुसार यो सरकार बनेको ५-६ हप्तासम्म निर्वाचन हुने हो की भन्ने आशङ्का आम मानिससँगै राजनीति वृत्तमा रहे पनि अहिले हटेर गएको बताए । मुलुकलाई निर्वाचनमा लैजान अन्तरिम सरकारले कतिपय बजेटमा आएका विषयवस्तुलाई कार्यान्वयनमा नलगेको पनि प्रष्ट पारे ।
अर्थमन्त्री खनालले भने, “जुन आशङ्का आम मानिससँगै राजनीति वृत्तमा सरकार बनेको ५–६ हप्तासम्म थियो । निवार्चन हुँदैन भन्ने थियो । जेलबाट भागेका कैदीहरू निस्केका छन् । हतियारहरू बाहिर छन् । पुराना पुस्ताका धेरै शासन सत्ता चलाएका नेताहरूलाई देख्नै चाहँदैनन् । उनीहरूसँग वार्ता नै गर्न चाहँदैनन् । परस्पर संवादको वातावरण नै छैन । यस्तो अवस्थामा यो सरकारले कसरी निर्वाचन गराउन सक्ला भन्ने एउटा ठुलो संशय मुलुक सामु थियो । त्यसलाई अत्यन्तै संयमतापूर्वक कुनै प्रतिरोध नगरी त्यो संशयलाई मेटाउन ठुलो चुनौती थियो । त्यो चुनौतीलाई बहन गर्नुपर्छ र त्यसलाई भड्किन नदिन कतिपय पर्यटन क्षेत्रसहित अरु धेरै कामहरू गर्न सकिएन ।”
अर्थमन्त्री खनालले दिगो पर्यटन विकास गर्न जरुरी रहेको समेत बताए । खनालका अनुसार भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने जिम्मेवारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको समेत बताए ।










