काठमाडौँ : बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ को चौधौँ संस्करण आगामी चैत २ देखि ८ गते (मार्च १६–२२, २०२६) सम्म नेपालसहित विश्वभर मनाइने भएको छ ।
नेपालमा रहेक वर्षजस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ‘ग्लोबल मनी विक २०२६’ आयोजना गर्ने भएको हो ।केन्द्रीय बैंकको संयोजनमा बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था, बिमा कम्पनी, सहकारी संस्था, पुँजीबजारसँग सम्बन्धित निकाय तथा अन्य वित्तीय सेवा प्रदायकको सक्रिय सहभागिता रहने बताइएको छ ।
राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान, गैरसरकारी संस्था तथा सरोकारवाला निकायलाई ‘ग्लोबल मनी विक’ मा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ । वित्तीय पहुँच विस्तारसँगै वित्तीय सेवाको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्नु वर्तमान आवश्यकता रहेको जनाउँदै बैंकले सामूहिक प्रयासबाट मात्र दिगो वित्तीय समावेशिता सम्भव हुने उल्लेख गरेको छ ।
‘ग्लोबल मनी विक’ मूलतः किशोरकिशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट’ (ओइसिडी) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ ।
राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा यो अभियान सञ्चालन भइरहेको छ । अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलुकका करिब ७ करोड बालबालिका, किशोरकिशोरी र युवा लाभान्वित भएको ओइसिडीले जनाएको छ ।
ग्लोबल मनी विकको स्थायी नारा ‘सिक, बचाउ, कमाउ’ (लर्न, सेभ, अर्न) रहेको छ भने यस वर्षको नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ । वित्तीय निर्णयहरूमा सचेत सहभागिता, बचत तथा लगानीको संस्कार विकास, डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग तथा जिम्मेवार उपभोग प्रवर्द्धन गर्नु यस अभियानका प्रमुख उद्देश्यहरू रहेका राष्ट्र बैंकले जनाएको छ ।
अभियानअन्तर्गत विद्यालय तथा क्याम्पस केन्द्रित वित्तीय शिक्षा कार्यक्रम, अन्तरक्रियात्मक छलफल, निबन्ध तथा वक्ततृत्व प्रतियोगिता, डिजिटल वित्तीय साक्षरतासम्बन्धी तालिम, वित्तीय उपभोक्ता अधिकारबारे सचेतनामूलक कार्यक्रमलगायत विविध गतिविधि सञ्चालन हुँदै आएका छन् ।










