काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारलाई निर्वाचन प्रयोजनका लागि अनिवार्य बैंक खाता तत्काल खोल्न ताकेता गरेको छ ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन प्रचार–प्रसारसम्बन्धी सबै खर्च सोही खाताबाट गर्नुपर्ने व्यवस्था भएकाले हालसम्म खाता नखोलेका उम्मेदवारलाई ढिलाइ नगर्न सचेत गराएको हो । आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार फागुन ४ गतेदेखि प्रचार–प्रसार अवधि सुरु हुने भएकाले सो मितिदेखि नै बैंक खाता सञ्चालनमा आउनुपर्ने आयोगको अपेक्षा छ ।
“घोषणापत्र र निर्वाचन बैंक खातालाई हामीले विशेष फोकस गरेका छौं। प्रभावकारी कार्यान्वयनका लागि दलहरुलाई निर्देशनात्मक आदेश समेत जारी गरिएको छ,” श्रीसले भनिन् । उम्मेदवारले बैंक खाता खोल्न आवश्यक सिफारिस दलमार्फत निर्वाचन आयोगबाट तथा जिल्ला वा प्रदेश निर्वाचन कार्यालयबाट लिनुपर्ने व्यवस्था गरिएको छ। रेकर्ड व्यवस्थापन सहज बनाउन यस्तो प्रक्रिया अपनाइएको आयोगको भनाइ छ ।
सार्वजनिक बिदा धेरै परेकाले खाता खोल्ने काममा केही असहजता भएको स्वीकार गर्दै आयोगले बैंकका सीईओहरुसँग छलफल गरी सहजीकरण गर्ने सहमति गरिसकेको जनाएको छ । आयोगले सकेसम्म फागुन ३ गतेभित्रै खाता खोल्न र सोही खाताबाट सम्पूर्ण निर्वाचन खर्च गर्न आग्रह गरेको छ। “१–२ दिनभित्र धेरैजसो उम्मेदवारले खाता खोलिसक्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं,” श्रीसले भनिन् ।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचन खर्च पारदर्शी बनाउन प्रत्येक उम्मेदवारले अनिवार्य रूपमा बैंक खाता खोली सोही खातामार्फत सबै खर्च गर्नुपर्ने व्यवस्था छ ।










