काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारामा आन्तरिक असन्तुष्टि सतहमा देखिन थालेको छ। बारा जिल्ला संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनेका चौधरी यसपटक पनि टिकटको आकांक्षी थिए। तर उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेका हुन्।
जिल्ला सभापति चन्दन स्वर्णकारका अनुसार चौधरीको बहिर्गमनको मुख्य कारण उम्मेदवार चयन प्रक्रिया हो। उनले भने, “उनले २५ हजार रुपैयाँ शुल्क तिरेर आन्तरिक निर्वाचनमा सहभागिता जनाएका थिए। तर अन्तिममा विधिविपरीत ढंगले उम्मेदवार चयन भएको महसुस गर्दै पार्टी परित्याग गरे।”
अघिल्लो निर्वाचनमा मधेश प्रदेशका २५ उम्मेदवारमध्ये चौधरीले सबैभन्दा बढी मत ल्याएका थिए। चौधरी समुदायको उल्लेख्य बसोबास रहेको बारा क्षेत्र नम्बर–४ मा उनको बहिर्गमनले चुनावी समीकरणमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ।





