काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज एवम् परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई सम्बोधन गर्दै उनले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीस्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको धारणा राखेको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उनले विश्व अर्थतन्त्रमा अनिश्चितता र आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा छिमेकी राष्ट्रबीचको सुदृढ सहकार्य महत्वपूर्ण हुनेमा जोड दिए । भारतले हालै प्रस्तुत गरेको केन्द्रीय बजेटले पूर्वाधार, ‘डिजिटल कनेक्टिभिटी’, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवर्द्धनमा दिएको प्राथमिकताले नेपालका लागिसमेत नयाँ अवसर सिर्जना गर्ने उनको धारणा थियो ।
अध्यक्ष ढकालले नेपाल जलविद्युत्मा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको जानकारी दिँदै उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताए । यस्तै, उनले पर्यटन क्षेत्रमा नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्य प्रस्तुत गरेको उल्लेख गर्दै होटल, रिसोर्ट तथा केबलकार परियोजनाहरूमा लगानीको अवसर विस्तार भइरहेको जानकारी पनि गराए ।
अध्यक्ष ढकालले भने, ‘नेपालमा ऊर्जा, पर्यटन औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना रहेको छ । यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गर्दछु ।’ नेपालको निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले दीर्घकालीन रुपमा लगानीकर्ताको विश्वास कायम गर्ने पक्षमा नेपालमा नीतिगत सुधारहरु भइरहेको पनि उल्लेख गरे ।
उनले इन्डो–नेपाल व्यापार महोत्सव केवल औपचारिक कार्यक्रम नभई सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने मञ्च भएको उल्लेख गर्दै हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी व्यवसायी एवम् लगानीकर्ताहरुलाई आह्वान पनि गरे ।










