ताप्लेजुङ : नेपाल शेर्पा सङ्घ ताप्लेजुङले आज फुङ्लिङमा २१५३औँ ग्याल्पो ल्होसार पर्व हर्षोल्लासका साथ मनाएको छ ।
यस वर्षको ल्होसार फागुन ६ गते परे पनि जिल्लामा भने आज शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति तथा सामूहिक कार्यक्रममार्फत पर्व मनाइएको हो । सङ्घका अध्यक्ष दावा शेर्पाका अनुसार ल्होसार १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाइने परम्परा छ । मुख्य दिनमा घर–घरमा आफन्तसँग पर्व मनाउने, छरछिमेकीकहाँ आलोपालो जाने र सामूहिक रूपमा शुभकामना साटासाट गर्ने चलन रहेको उनले बताए ।
सोही परम्परालाई निरन्तरता दिँदै आज सामूहिक कार्यक्रम आयोजना गरिएको हो । बालबालिकादेखि वृद्धवृद्धासम्मका समुदायका सदस्य मौलिक शेर्पा पोसाकमा सजिएर कार्यक्रममा सहभागी भएका थिए । उनीहरूले सद्भाव र्यालीसहित बजार परिक्रमा गरेका थिए ।
कार्यक्रममा स्याब्रु नाच, सिलि नाचलगायत मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको सङ्घले जनाएको छ । ल्होसार पर्वले शेर्पा समुदायबीच एकता, सांस्कृतिक संरक्षण र आपसी सद्भाव अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।










