नुवाकोट : नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हितबहादुर तामाङले आफ्नो जित सुनिश्चित भइसकेको र अब आधिकारिक घोषणा हुन मात्र बाँकी रहेको दाबी गरेका छन् ।
नुवाकोटको छहरेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विपक्षीहरूको पराजय निश्चित भएपछि उनीहरू अत्तालिएर आचारसंहिता विपरीतका क्रियाकलापमा उत्रिएको आरोप समेत लगाए।
आफ्नो विजयप्रति ढुक्क देखिएका तामाङले भने, “नुवाकोट क्षेत्र नं. १ मा अरु कोही कसैले जित्ने सम्भावना मैले देखेको छैन। एक प्रकारले भन्ने हो भने हामीले जितिसक्यौँ। अब फागुन २१ गते जनताले मतदान गरेर मतगणनापछि औपचारिक घोषणा हुन मात्र बाँकी छ।” उनले थपे, “कदमकदाचित् आकाश खसेछ वा धर्ती भास्सिएछ भने मात्र अर्कै कुरा हो, नत्र परिवर्तन जोगाउन पनि हितबहादुर तामाङले जित्नु अनिवार्य छ।”
आफू यहीँको माटोमा जन्मिएको र सधैं जनताको सुख-दुःखमा साथै रहेको बताउँदै तामाङले आगामी फागुन २१ मा ‘तारा’ चिन्हमा मतदान गरी परिवर्तनको पक्षमा उभिन सबैलाई आह्वान गरे। उनले ०७४ पछी मात्रै आफ्नो नेतृत्वमा नुवाकोटमा विकासका पुर्वाधारको काम अघि बढेको बताए।










