काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले गरिब र सीमान्तकृत समुदायको जीवनस्तर सुधार गरेर उनीहरुको अनुहारमा उज्यालो ल्याउन उज्यालो नेपाल पार्टी गठन भएको बताएका छन्।
कैलालीको जोशीपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले गरिबलाई गरिबीबाट मुक्ति दिलाउने प्रमुख एजेन्डा बनाएको बताए ।
देशलाई उज्यालो बनाउने, भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने, सामाजिक न्यायसहित समातमुलक समाज स्थापना गर्दै देशलाई समृद्ध बनाउने रोड म्याप उज्यालो नेपाल पार्टीले तयार गरेको बताए । त्यसलाई कार्यान्वयन गर्न पनि उज्यालो नेपाल पार्टीलाई मत दिन उनले मतदातालाई आग्रह गरे ।
‘उज्यालो नेपाल पार्टी भनेको गरिबको, सीमान्तकृतको आवाजलाई उठाउने पार्टी हो । गरिबको अनुहारमा उज्यालो ल्याउन उज्यालो नेपाल पार्टी जन्मेको हो । सीमान्तकृतको अनुहारमा उज्यालो ल्याउन यो पार्टी गठन भएको हो,’ घिसिङले भने, ‘गरिबलाई गरिबीबाट मुक्ति दिलाउने प्रमुख एजेन्डा बनाएका छौँ ।’





