काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
केन्द्रीय बैंकले ८७ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम झिक्न लागेको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकका अनुसार अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ बजेसम्म आवेदन दिन सकिनेछ। संकलित रकमको मूलधन र ब्याज भुक्तानी २०८३ साल जेठ ६ गते गरिनेछ।
यस निक्षेप संकलन प्रक्रियामा केन्द्रीय बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्।










