काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरिएको बताएका छन् ।
झापाको बाह्रदशीस्थित राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाचारमा आएजस्तो कुनै पनि राजनीतिक दलहरूसँग राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेल नगरेको बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै उनले देश र जनता जोगाउने हो भने यो व्यवस्था र अवस्थामा परिवर्तन हुनुपर्ने अन्यथा देश अझै ठुलो भुमरीमा फस्ने दाबी गरे । उनले आफूलाई र राप्रपालाई सबै पार्टी र विचारप्रति आस्थावानहरुको भोट चल्ने बताउँदै हलोमा भोट हाल्न मतदातालाई आग्रह समेत गरे । लिङ्देनले राप्रपालाई भोट हालेका कारण कहिल्यै पछुताउनु नपर्ने पनि बताएका छन्।
अध्यक्ष लिङ्देनले सिंहदरबार जलाउने र सिंहदरबार जोगाउन नसक्नेको बिचमा राष्ट्रिय प्रजातन्त्र पार्टी बेग्लै पहिचान बोकेर अगाडि बढेको समेत उल्लेख गरे । राप्रपालाई बहुमत नदिए देश नै नरहने जिकिर गर्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बहुमत दिन आम मतदातालाई अपिल समेत गरे ।










