काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेका छन्।
आमजनसमुदायलाई सम्बोधन गर्दै आज भिडियो आज सन्देश जारी गरी उनले जेनजी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान उल्लेख गरे । देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै संयोजक दाहालले त्यसको मूल्याङ्कन इतिहासले गर्ने बताएका छन् ।
उनले आफू सरकारको नेतृत्वमा रहँदा सुशासन, विधिको शासन स्थापित गर्ने प्रयास गरिएको र ठूला भ्रष्टाचार काण्ड उजागर गरिएको भन्दै फेरि पनि पार्टीले सो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । “हामी सरकारमा हुँदा सुशासन र विधिको शासन कार्यान्वयनको प्रयास गरेका थियौँ, तर त्यही बेला सरकार परिवर्तन भयो ।
त्यसपछि प्रतिपक्षमा रहँदा पनि कुशासनविरुद्ध निरन्तर सङ्घर्ष गरेका थियौँ”, उनले उल्लेख गरे,“यस निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मत दिने विश्वास छ ।”
निर्वाचनमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै संयोजक दाहालले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गरे ।










