काठमाडौँ । सौगात मल्ल र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा पनि रिलिज हुने भएको छ ।
निर्माण पक्षले फिल्म अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले किनेको जानकारी दियो । फिल्मका निर्माता सुशील पोखरेल हुन् । लक्ष्मण सुनारेको निर्देशन रहेको फिल्ममा सौगात र सुहानको अलवा प्रकाश सपुत मुख्य भूमिकामा छन् । ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठाएको छ ।
हरि ॐ सिने मेकर्स प्रालिको निर्माणमा बनेको यस फिल्ममा सुशील देवकोटाको लेखन छ । संकल्प भुजेलले खिचेको फिल्मको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर डिजिटल राईट लिइसकेको छ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म बनाएका थिए ।









