काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि संघीय राजधानी काठमाडौंबाट आफ्नो गृहजिल्ला फर्किनेहरुको आज चाप रहेको छ।
काठमाडौंका बसपार्कहरुमा यात्रुहरुको बाक्लो भीड देख्न सकिन्छ । रोजगारी, अध्ययन र अन्य विभिन्न सिलसिलामा काठमाडौं उपत्यकामा बसोवास गर्दै आएका मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किन थालेका हुन् । भोलि सार्वजनिक यातायात नचल्ने भएकाले आजै मतदानका लागि गाउँ फर्किनुपर्ने बाध्यता रहेको छ ।
सोही कारण नयाँ बसपार्क (गोंगबु), कलंकी, कोटेश्वर र बल्खु लगायतका स्थानमा बिहानैदेखि यात्रुहरुको घुइँचो लागेको हो । विशेषगरी लामो दूरीका सवारी साधनहरुमा टिकट पाउन मुस्किल पर्न थालेको यात्रुहरुले गुनासो गरेका छन् । यातायात व्यवसायीहरुकाअनुसार पछिल्लो केही दिनयता उपत्यका बाहिरिने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।









