काठमाडौँ : भारतबाट फर्किरहेको इरानी युद्धपोत आईआरआईएस डिनालाई अमेरिकाले बुधबार श्रीलंकानजिकै आक्रमण गरेर डुबाइदिएको छ। श्रीलंकाली सरकारका अनुसार अहिलेसम्म आक्रमणमा ८० जना इरानी नाविक मारिएका छन्।
अमेरिकाका रक्षा सचिव पिट हेगसेथले भने, एक अमेरिकी पनडुब्बीले हिन्द महासागरमा इरानी जहाजलाई टार्पेडोले ठोकाएर डुबाएको छ। श्रीलंकाली नौसेनाले ३२ घाइते नाविकलाई उद्धार गरी अस्पतालमा भर्ना गरेको छ।
जहाजमा लगभग १८० नाविक थिए। बेपत्ताहरूको खोजी भइरहेको छ। इरानी युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित २०२६ इन्टरन्यासनल फ्लिट रिभ्युबाट फर्किरहेको थियो।
श्रीलंकाली अधिकारीहरूले अल जजिरालाई बताएअनुसार मद्दतका लागि बुधबार बिहान खबर पठाइएको थियो। जहाज दक्षिणी श्रीलंकाको गाले सहरबाट लगभग ४० समुद्री माइल (लगभग ७५ किलोमिटर) टाढा थियो।









